
दैलेख । दैलेख गुराँस गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुले सेवाको गुणस्तर र समग्र विकासका सम्बन्धमा ८ बुँदे प्रतिवद्धता जनाएका छन् ।
गुराँस गाउँपालिकाको आयोजना तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहजिकरणमा गुराँस गाउँपालिकामा गरिएको बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत् जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा पालिकाले दिने सेवा, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत विभिन्न जनचासोका विषयमा गहिरो छलफल गरिएको थियो ।
कार्यक्रममा पालिकालाई प्रविधि र जनमैत्री बनाउने, स्वास्थ्य सेवामा सुधार ल्याउने, खानेपानी समस्याको समाधान गर्ने, शिक्षालाई गणस्तरीय बनाउने, लोपोन्मुख जाति राउटेलाई संरक्षण र स्थाइत्तोकरण गर्ने जस्ता विषयमा जनप्रतिनिधि र कर्मचारीहरूले स्पष्ट प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष टोप बहादुर वि.सी. ले सेवा प्रवाह र विकास निर्माणका कामलाई पारदर्शिता र पहुँच वृद्धि गरिने बताउनुभयो । “हामी पालिकाका सेवा जनमैत्री बनाउनेतर्फ लागेका छौं, विकासका काम छिटो गर्ने छौ, जनताको सुझाव र गुनासोलाई प्राथमिकतामा राखेर काम गरिनेछ,“ उहाँले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले सेवाग्राहीलाई सहज गराउन सेवालाई डिजिटल गराई सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँने बताउनुभयो ।

पुर्वाधार शाखा प्रमुख इन्जिनियर तिर्थराज कंडेलले योजना पास लगाएत शाखाका कामलाई अझै छिटो र सहज गराउँदै लैजाने जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय नागरिकको सक्रिय सहभागिता देखिएको थियो । उनीहरूले आफ्ना समस्या र अपेक्षाहरू खुलस्त रूपमा प्रस्तुत गरेका थिए ।
यस कार्यक्रमले नागरिक र जनप्रतिनिधिबीचको संवाद बलियो बनाउने विश्वास स्थानीयले व्यक्त गरेका छन् । कार्यक्रममा ७६ जना नागरिकको सहभागिता थियो ।
स्थानीय तहमा सुशासनको सवाल कमजोर भइरहेको बेला गुराँस गाउँपालिकाले भने पारदर्शिता, जवाफदेहिता र उत्तदायित्त्व प्रवर्द्धन गर्नु आफ्नो कर्तव्य भएको भन्दै प्रत्येक वर्ष सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण र वार्षिक समीक्षा लगायत क्रियाकलाप गर्ने गरेको छ ।




खबर बजार । ३० असार २०८२, सोमबार २१:३८