फेरि वर्षा र हिउँ पर्ने सम्भावना

कहाँ-कहाँ पर्छ हिउँ ?

काठमाडौं । आउँदो बुधबार देखि मौसम क्रमिक रुपमा सफा हुने भएको छ । त्यसअघि मङ्गलबार फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले माघ २० गते मंगलबार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।
यसैगरी लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको उहाँको भनाई छ ।
उहाँकाअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू-भागका एक दुई ठाउँमा छिटपुटदेखि हल्का खालको पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मको हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने स्थानलाई जल तथा मौसम विज्ञान विभागले पहेँलो रंगले संकेत गर्दै सावधानी अपनाउन भनेको छ ।

माघ महिनामा हिउँ र पानी पार्ने प्रणाली नेपाल भित्रिएको यो तेस्रो पटक हो ।