संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको शंकास्पदरुपमा ज्यान गएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
शनिवार संखुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी विरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु मादी–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले जिल्ला प्रहरी कार्यालय संखुवासभामा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताउनुभयो ।
शुक्रवार गृह मन्त्रालय कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको टोली र राष्ट्रिय मानवअधिकार आयोगको टोली, मादी नगरपालिका मेयर जीवन लिङथेप, पीडित पक्ष, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डीएसपी वीरेन्द्र गोदार, अन्य संघसंसस्थाका प्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीहरु सहितको छलफलपछि मृतकको तर्फबाट किटानी जाहेरी दर्ता गर्ने र पोष्टमार्टम गर्ने लगायतको ५ बुँदे निर्णय भएको थियो ।
गएको २४ गते बुधवार जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट ज्यान गएको थियो ।
खबर बजार । २७ श्रावण २०८०, शनिबार १८:२६