सर्वोच्चको रिटले रोकियो कर्णाली प्रदेश लोकसेवा आयोगकाे परीक्षा

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ ।

फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवाको पाँचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरुको लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

आयोगले खुलाएको विज्ञापनविरुद्व सर्वोच्च अदालतमा रिट परेपछि एक विज्ञप्ति जारी गरी तत्कालको लागि परीक्षा स्थगित भएको जानकारी दिइएको छ ।

लोकसेवा आयोगले पहिलोपटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको थियो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फ तीन सयभन्दा बढी पदका लागि गत पुस २७ गते लिखित परीक्षाको विज्ञापन गरिएको थियो ।

प्रदेश लोकसेवाले विज्ञापनमा थारू समुदायलाई आरक्षण नदिएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दर्ता
गराउनुभएको थियो । रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ ।