

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर उपत्यकामा खानेपानी आयोजनाका लागि साढे ६ अर्ब भन्दा बढी बजेटको सुनिश्चितता भएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा र विश्व बैंकका प्रतिनिधि बीच भएको समझदारीपछि बजेट सुनिश्चित हुने पक्का भएको हो ।

आयोजना निर्माणका लागि ६ अर्ब ५६ करोड रुपैयाँ सुनिश्चित भएपछि अबको केही वर्षभित्रमा लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय नागरिकको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
भेरी नदीबाट उपत्यकामा ५ सय ६६ लिटर प्रतिसेकेण्ड पानी ल्याउने तयारी भइसकेको छ । त्यो पानीले आगामी ५० वर्षसम्मको जनसंख्या वृद्धिदरलाई थेग्ने आँकलन गरिएको छ ।
भेरी नदीबाट लिफ्ट गरि वीरेन्द्रनगरको अमृतडाडाँमा पुर्याई पानीलाई उपत्यकाका वितरण हुनेछ । संस्थानका अध्यक्ष देवकोटाले आगामी असार भित्रै तीन अर्व ५६ करोड बराबरको मुख्य काम सम्पन्न गर्न टेण्डरको तयारी अब सुरु हुने खबरबजारलाई बताउनुभएको छ ।

बैंकले ६ अर्ब ५६ करोड रुपैंयाको ८० प्रतिशत व्यहोर्नेछ भने बाँकी रकम स्थानीय उपभोक्ता, वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले व्यहोर्ने समझदारी समेत बनेको छ ।
दोश्रो चरणका लागि वितरण लाईन, रिर्जवेशन ट्याकींको समेत डीपीआर कार्यक्रम अघि बढाउने उहाँले बताउनुभयो । दोश्रो चरणका लागि कम्तिमा पनि तीन अर्व लाग्ने प्रारम्भिक अध्ययनले देखाएको उहाँको भनाई छ ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत उपत्यकामा पछिल्लो समय जनघनत्व अप्रत्यासित रुपमा बढिरहेकाले यहाँको खानेपानी व्यवस्थापनको काम थप चुनौतिपूर्ण बनेको छ ।

खबर बजार । १३ फाल्गुन २०७८, शुक्रबार १७:१४