

जाजरकोट । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य राखिए पनि जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अझै बैङ्क पुग्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो । तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि जुनीचाँदे अझै बैंकविहीन छ ।
जुनीचाँदेमा कृषि विकास बैंक र साईपालमा एभरेस्ट बैंकले शाखा खोल्ने जिम्मा पाएका थिए । तर जनप्रतिनिधि तथा सर्वसाधारणबीच विवाद कायमै रहेकाले शाखा खोल्न नसकेको बैङ्कले बताएका छन् ।
गाउँमा बैंक नपुग्दा वृद्ध भत्ता बुझ्नदेखि सम्पूर्ण कामका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेकाे स्थानिय नागरिकले बताएका छन् ।देशभर अहिले जाजरकोटको जुनीचाँदेसहित धादिङको रुविभ्याली र बझाङको साईपाल गाउँपालिकामासमेत बैङ्कको शाखा पुगेका छैनन् ।
दुर्गम स्थानीय तहमा बैंकलाई आवश्यक पर्ने स्रोतसाधनको अभावले शाखा विस्तार गर्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायको भनाई छ ।

खबर बजार । १६ फाल्गुन २०७८, सोमबार १६:१२