काठमाडौं । नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रभाव आफूहरुले पनि भोग्नु परेको र नेपालमा घाटा नघटेको भन्दै मूल्य बढाउने तयारीमा नेपाल आयल निगमले पुगेको हो ।
बढेको कच्चा तेलको मूल्यका कारण मंगलबार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्याँस, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेर प्राप्त भएको निगमले जनाएको छ ।
डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर चार/चार रुपैयाँ र खाना पाकाउने ग्याँसमा प्रति सिलिण्डर एक सय रुपैयाँले बढेर नयाँ मूल्य आएको आयोगका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो ।
बढेको मूल्यका कारण निगम १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा जाने भएकाले मूल्य बढाउनु पर्ने दबाबमा परिएको निगमले बताएको छ । भट्टराईकाअनुसार नयाँ मूल्य नबढाए र आईओसीलाई इन्धनको पैसा तिर्न निगम एक्लैले नसक्ने अवस्था बनेको छ ।
१५ दिन अगाडिको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा निगमलाई प्रतिलिटर क्रमशः १६ रुपैयाँ ५९ पैसा र १२ रुपैयाँ ५८ पैसा घाटा रहेकोमा अब त्यस्तो घाटा बढेर क्रमशः लिटरमा २० रुपैयाँ ५२ पैसा र १६ रुपैयाँ ८ पैसा पुगेको छ ।
यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर घाटा ५६५ रुपैयाँबाट बढेर ६६५ रुपैयाँ पुगेको छ । मंगलबार प्राप्त नयाँ मूल्यपछि निगमको नियमित बिक्रीबाट आईसीको रकम भुक्तानी हुन नसक्ने अवस्था आएको निगमको भनाइ छ ।
यसअघि माघ १८ गते देखि लागू हुनेगरी मूल्य बढाइएकोमा दुई हप्तापछि पुनः फागुन ५ गते विहानदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धन ४.९५ ले बढाइएको छ ।
खबर बजार । १७ फाल्गुन २०७८, मंगलवार १४:२०