संघको निर्वाचनमा पनि कंग्रेसले गठबन्धन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको चुनावमा प्राप्त परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

स्थानीय चुनावमा थुप्रै ठाउँमा नेपाली कांग्रेससहित पाँच दलले गठबन्धन बनाएर चुनावमा होमिएका थिए । उक्त चुनावमा आएको परिणाम सन्तोषजनक रहेको कांग्रेसले जनाएको हो ।

‘कतिपय स्थानीय तहमा गठबन्धनसहित हामी निर्वाचनमा भाग लियौँ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले भने, ‘नेपाली कांग्रेस केन्द्रीय समितिको यो बैठक समग्रमा गठबन्धनसहित प्राप्त परिणामप्रति सन्तोष व्यक्त गर्दछ ।’

त्यस्तै, स्थानीय चुनावमा कांग्रेस पहिलो दल बनेको भन्दै आगामी संघीय चुनावमा बहुमत आउने गरी अगाडि बढ्ने निष्कर्ष निकालिएको महतले जानकारी दिनुभयो ।

‘स्थानीय निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि,’ बैठकका निर्णयबारे जानकारी दिँदै महतले भने, ‘सत्ता गठबन्धनमा रहेका दलहरूसँग सम्वाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’