दुई महिनाको अवधिमा तेस्राे पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

आजदेखि लागू हुनेगरी नयाँ मूल्य

काठमाडौं । दुई महिनाको अवधिमा तेस्राे पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको छ ।

यसअघि माघ १८ र फागुन ५ मा मूल्य बढेकोमा आज शुक्रबार विहान देखि लागू हुने गरी पुनः पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

नेपाल आयल निगमको बिहीबार बसेको बैठकले डिजल पेट्रोल र मट्टितेलको मूल्य पाँच रुपैयाँले बढाउने निर्णय गरेकाे हाे ।

निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा विक्रि मूल्यमा प्रति लिटर पाँच रुपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र) मा प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य एक सय ५०, र एक सय ३३ रुपैयाँ कायम गरेको छ ।

निगमलाई एलपी ग्यासमा प्रति सिलिण्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुँदासमेत बिक्री मूल्य नबढाई अहिलेलाई पुनः यथावत नै राखिएको छ भने हवाई इन्धनमा पनि केही मूल्य समायोजन गरिएको छ ।

मूल्य समायोजनपछि पनि नेपाल–भारत सीमा क्षेत्रमा अझै पनि पेट्रोल २४ रुपैयाँ २४ पैसा र डिजेल १७ रुपैयाँ ३१ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो नै रहेको छ ।

निगम संचालक समितिले मूल्य समायोजनको निर्णयसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने, मूल्य संरचनामार्फत् प्रतिशतमा दिइँदै आएको विक्रेता कमिशन अहिलेलाई फागुन ७ गते कायम भए अनुरूप नै यथावत राख्ने निर्णय गरेको छ ।