राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गर्नुभएको छ ।
औपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा आइपुग्नुभएकि उहाँले आज वीरेन्द्रनगर ९ स्थित लाटीकोइलीमा रहेको कांक्रेविहारको अवलोकन गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रर्वद्धन गर्न जरुरी रहेको धारणा राख्नुभयो । साथै उहाँले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राख्नुभएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरुले कांक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताउनुभयो । अवलोकन पश्चात राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरु समेटिएको मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्यहरु, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

राष्ट्रपतिका स्वकीय प्रेस सचिव सोम राईले कांक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक पक्षको प्रर्वद्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको बताउँदै, यस्ता ठाउँहरुको प्रर्वद्धन गर्न, स्वच्छता कायम राख्न र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न राष्ट्रपतिले विशेष चासो राख्दै आएको बताउनुभयो । राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको छ । उहाँ आज सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्नुहुने भएको छ ।