दैलेख । दैलेखको दुल्लु नगरपालिका– ९ को वडा कार्यालयमा कार्यरत दुई महिला कर्मचारीलाई स्थानीयले पाँच घन्टा बन्धक बनाएका छन् ।
कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएर गालीगलौज र अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको पीडित कर्मचारीले बताएका छन् ।
वडासचिव रत्ना गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई स्थानीय प्रेमबहादुर भण्डारीसहितको टोलीले कार्यालयमै पुगेर बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्धक बनाएका हुन् ।
वृद्धभत्ताको कार्ड नामसारी गर्ने विषयमा विवाद भएपछि उनीहरूलाई बन्धक बनाइएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
कर्मचारीले कानुनविपरीतको काम गर्न नमिल्ने भनेपछि उनीहरूले बन्धक बनाएको बताइएको छ । घटनाबारे जानकारी पाएपछि सुरक्षाकर्मीको टोली वडा कार्यालय पुगेर बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको थियो ।
कर्मचारीलाई उद्धार गर्न जाँदा केही स्थानीयले प्रहरीमाथि नै ढुंगामुडा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताउनुभयो ।
घटनामा संलग्नमध्ये मुख्य योजनाकार प्रेमबहादुर भण्डारी फरार रहेका छन् भने अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्मचारीको गल्ती भए सम्बन्धित निकायहरूमा उजुरी गरेर कर्मचारीलाई कारबाही प्रक्रिया सुरु गर्न सकिने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभएको छ ।
यता, जनताको सेवामा खटिएका कर्मचारीलाई कार्यकक्षमै बन्धक बनाउँदै अमानवीय व्यवहार गरेको भन्दै निजामती कर्मचारी संगठन र कर्मचारी युनियनले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् ।
"
खबर बजार । १४ माघ २०७८, शुक्रबार १३:२०