
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले समावेशी र समतामूलक विकासको आधार स्थापना गर्न थालेको छ । समावेशी र समतामूलक विकासको लागि अपरिहार्य रहने कानुनी विधि र त्यसको कार्यान्वयनको सन्दर्भमा समीक्षा एवं कार्ययोजना तयार गर्नेतर्फ नरैनापुर लागिरहेको हो ।

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (लैससास) सम्बन्धि रणनीतिक योजना तयार गरेको नरैनापुरले लैससासको अवस्थाबारे आत्ममूल्याङ्कन गर्दै समावेशी तथा उत्तरदायी स्थानीय शासन सुदृढीकरणका लागि लैससास परीक्षण सम्पन्न गरेको छ ।

नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा.लि.को सहजीकरणमा आयोजित कार्यशालामार्फत परीक्षण गरिएको हो ।

कार्यशालामा गाउँपालिकाको नीति, कार्यक्रम, बजेट, योजना, संस्थागत संरचना, मानव संसाधन व्यवस्थापन, क्षमता विकास, सेवा प्रवाह, सुशासन तथा उत्तरदायित्वका विभिन्न सूचकहरूको विस्तृत समीक्षा गरिएको थियो। साथै महिला, अपाङ्गता भएका व्यक्ति, दलित, मुस्लिम, मधेसी, थारु तथा अन्य सीमान्तकृत समुदायको स्थानीय शासन तथा विकास प्रक्रियामा सहभागिता र पहुँचको अवस्थाबारे समेत विश्लेषण गरिएको थियो ।

लैससास परीक्षण स्थानीय तहको समग्र कार्यसम्पादनलाई लैङ्गिक तथा समावेशी दृष्टिकोणबाट मूल्याङ्कन गर्ने महत्वपूर्ण प्रक्रिया हो । यस परीक्षणले स्थानीय सरकारका नीति तथा कार्यक्रम कत्तिको समावेशी छन् भन्ने पहिचान गर्नुका साथै सुधारका क्षेत्र निर्धारण गरी आगामी कार्ययोजना निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यशालामा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद् शाह, उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, विभिन्न शाखा प्रमुख तथा गाउँपालिकाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले समावेशी विकास, समान अवसर तथा सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न लैससास परीक्षण उपयोगी माध्यम भएको धारणा व्यक्त गरेका थिए । उनीहरूले परीक्षणबाट प्राप्त सुझाव तथा निष्कर्षलाई आगामी नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा समावेश गरिने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यशालाको सहजीकरण स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा.लि.का चन्द्रप्रकाश शर्माले गर्नुभएको थियो । उहाँले लैससास परीक्षणले स्थानीय तहलाई समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणतर्फ अग्रसर गराउने बताउँदै परीक्षणका नतिजालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
नरैनापुर गाउँपालिकाले प्रत्येक वर्ष नियमित रूपमा लैससास परीक्षण गर्दै आएको जनाएको छ। परीक्षणबाट प्राप्त नतिजाका आधारमा आगामी वर्षका नीति, कार्यक्रम तथा बजेटलाई थप समावेशी र परिणाममुखी बनाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।




खबर बजार । ५ असार २०८३, शुक्रबार १८:३१