

सुर्खेत । यहीँ चैत्र २६ गते हुन लागेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तत्काल नगर्न उच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई यहीँ चैत्र २४ गते बोलाउन पेसी तारेख तोकिएको अदालतका उप–रजिष्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु पर्ने होइन, जारी हुनुनपर्ने कुनै कारण, आधार र प्रमाण भए १५ दिनभित्र उच्च सरकारी वकील कार्यालयमार्फत पेश गर्न अदालतले आदेश दिएको छ ।
सुरेन्द्रकुमार मल्लले संघको निर्वाचन रोकी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा बिहीबार रिट दायर गर्नुभएको हो । । संघको तीन वर्षे कार्यकाल सकिएपछि नयाँ नेतृत्वको लागि चैत २६ गते निर्वाचन मिति तोकेर कार्यतालिका सार्वजनिक गरिएको थियो ।
असन्तुष्ट व्यापारीहरुले निर्वाचन रोक्नु पर्ने भन्दै अदालत पुगेपछि अदालतले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म तत्कालका लागि निर्वाचन कार्यतालिका रोकिएको छ ।

खबर बजार । १८ चैत्र २०७८, शुक्रबार १७:५२