
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज शनिबार विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ । यो खेल बेलुकी ५ बजे त्रिभूवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा हुनेछ ।
तेस्रो संस्करणमा भैरहेका पछिल्ला खेलमा रन बनाउन भने मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन् । हिजो भएका दुवै खेलमा बनेका कम योगफल र त्यसलाई पछ्याउने क्रममा देखिएको संघर्षले पिचबारे प्रश्न उठाएको छ ।
एनपीएलमा चितवन राइनोजले प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । अब प्ले अफमा पुग्न चितवनले अर्को खेलमा कर्णाली याक्सलाई हराउनुपर्नेछ । चितवनको जीतसँगै पहिलो संस्करणको च्याम्पियन जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।
यसअघि तेस्रो संस्करणमा पोखरा एभेन्जर्स प्ले अफ होडबाट बाहिरिने पहिलो टोली बनेको थियो । एनपीएलमा अघिल्लो दुई संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम रोयल्स यसपटक पनि अन्तिम चारमा पुग्न सफल भएको छ ।
सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरी लगातार तेस्रोपटक प्ले अफ पुगेको हो । यसअघि लुम्बिनी लायन्स पनि प्ले अफमा पुगिसकेको छ ।




