

सुर्खेत । वीरेन्द्रनगरमा आइतबार देखि चलेको अन्तरपालिका स्तरीय ‘वीरेन्द्रनगर युथकप पुरुष भलिबल प्रतियोगिता’को उपाधि लेकबेशी नगरपालिकाको टिमले कब्जा गरेको छ । आज भएको फाइनलमा चिङ्गाड गाँउपालिकाको टिमलाई ३-० को सोझो सेटमा हराउँदै लेकबेशी च्याम्पियन बनेको हो ।
लेकबेशीले तीनवटै सेटमा एक्लौटी जीत हात पार्दै नगद एक लाख रुपैयाँ पुरस्कार आफ्नो पोल्टामा पारेको छ। उपविजेता चिङगाडले ५० हजारमा चित्त बुझाएको छ । खेलको शुरुबाटै दबावमा राखेको लेकबेशीले २५-२१, २५-२० र २५-२२ ले नजिता आफ्नो पक्षमा पारेको थियो ।
यसअघि चिङगाड गाउँपालिकाको टिमले पञ्चपुरी र लेकेबेशीले सिम्ता गाउँपालिकाको टिमलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । समुह चरणको खेलमा पञ्चपुरी नगरपालिकाको टिमले लेकबेशीलाई र सिम्ताले चिङगाडलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए ।
आजै भएको अर्को खेलमा सिम्तालाई हराउँदै पञ्चपुरी तेस्रो हुन सफल भएको छ । सिम्लालाई २-१ को सेटले पराजित गर्दै पञ्चपुरीले २५ हजार हात पारेको छ ।
वीरेन्द्रनगर युथ क्लवको आयोजनामा भएको शुरु भएको प्रतियोगितामा सुर्खेतका ९ वटै स्थानीय तहका भलिबल टिमको सहभागिता थियो ।सहभागि सबै टिमलाई खेलकूद सामग्री वितरण गरिएको आयोजकले खबरबजारलाई जनाएको छ ।

खबर बजार । २४ फाल्गुन २०७८, मंगलवार १९:३०