

सुर्खेत । सिम्ता, शहरी दुनियाँभन्दा धेरै टाढा । तर सुन्दर । सिम्ताली जनताको तन, मन र मानस्पटल त्यति नै सुन्दर । अभाव थियो, त केवल उज्यालोको । केहि समय पहिला सम्म पनि दियालो अथवा झरो, मट्टीतेललगायतको सहारामा अँध्यारोसँगै जीवन चलाएका यहाँका नागरिकहरु उज्यालो सिम्ता देख्दा आफू छिटो जन्मिएकोमा पिरलो गर्छन् । किनकी, अब बिजुली बलेको छ ।
सुन्दर र उज्यालो भविष्यको खोजिमा पठनपाठन गरिरहेका सिम्ताली युवालाई अब बिजुली बत्तीले सहाराको काम गरिदिएको छ । आम नागरिकहरु आफ्नो जीवनकालमै विजुली बत्ती बल्छ र उज्यालो सिम्ता बन्छ भन्ने कुरा कल्पना समेत निकै कम मात्रामा गर्थे ।
जब नेपालको संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको पुनर्संरचनासँगै गाउँपालिका छुट्टै तहको सरकार बन्यो र त्यो सरकार चलाउने प्रतिनिधिलाई जनताले नै छान्न पाए । कविन्द्र कुमार केसीको नेतृत्वमा सिम्ता सरकार चल्न थाल्यो । अनि अहिले झलमल्ल विजुली बल्न थाल्यो । अब त घर घरमा बत्ती पुगेसँगै घण्टौँ हिडेर कुटानी–पिसानी गर्न जानुपर्ने बाध्यता पनि हटेको छ ।
उहाँ जस्ता धेरै महिलाहरुलाई समय र पैसाको पनि वचत भएको छ । त्यति मात्र कहाँ हो र ! धेरैले नयाँ व्यवसाय पनि सुरु गरेका छन् । विद्युतका कारण धेरै मानिसहरु स्वरोजगार भएका छन्, कृर्षिमा टेवा पुगेको छ, धेरैले सिंचाईका लागि मोटर चलाउन थालेका छन्, अनि अनि विद्युतिय मिलसमेत चलेका छन् ।
सुर्खेत जिल्लाको पुवी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका पुस्तौँदेखि बिकटताको पगरी गुथ्नमै सिमित भयो । स्थानीय सरकारलाई समेत सिम्ताको विकासका लागि धेरै किसिमका चुनौति थिए । तर दृढ इच्छाशक्ती र क्रियाशीलताको साथ गाउँपालिकाले लक्ष्य लियो ५ वर्षमा ३ वटा मात्रै काम गर्ने ।
पाँच वर्षमा तीन वटा मात्रै काम गर्ने भन्दा पहिला त सबैजसो दंग परे । र प्रश्न गरे पाँच–पाँच वर्षमा ३ वटा मात्रै काम ? दंग त अहिले पनि परिएकै छ । किनकी अहिले विकासले गति लियो, बुझाईले फड्को मार्यो ।
सिम्ता उज्यालो, पहुँच मार्ग र जनतासँग सिम्ता गाउँपालिका भनेर तय गरिएका तीनवटा लक्ष्यले नै यहाँका नागरिकको जीवन स्तरमा सुधार ल्याइदिएको छ । २०७४ सालको स्थानीय निर्वाचन हुँदासम्म सिम्ता गाउँपालिका वडा नम्बर ६ को राकम क्षेत्रमा मात्रै विद्युत सुविधा थियो । हाल सबै वडाका अधिकांश घरहरुमा विद्युत पुगिसकेको छ ।
सामुदायिक विद्युतिकरण विभागसंगको सहकार्यमा गाउँपालिका उज्यालो सिम्ताको परिकल्पना साकार पार्ने चरणमा पुगेको हो । सामुदायिक विद्युतिकरणबाट ९० प्रतिसत र गाउँपालिकाको कार्यालयबाट १० प्रतिसत गरी जम्मा २४ करोड बजेटको लागतमा उज्यालो सिम्ता बनेको हो । सिम्ता र सिम्तालीको मुहारमा यस्तै सधैंसधैं उज्यालो छाइरहोस् ।
हेर्नुहोस्, भिडिओः

खबर बजार । २ बैशाख २०७९, शुक्रबार ०७:५५