
सुर्खेत । कर्णाली प्रदेश प्राप्तिको १० वर्ष पुगेको छ, आज कर्णाली प्रदेश स्थापना दिवस ।
२३, साउन ०७२ मा तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभियो । तेसकै विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । २४, साउन ०७२ देखि सुरु भएको आन्दोलनमा एकातिर साविक कर्णालीको मात्र अलग प्रदेश र अर्कातिर मध्यपश्चिम क्षेत्रलाई अखण्ड मध्यपश्चिम कायम गरेर प्रदेश घोषणा गर्नुपर्ने आवाजहरु उठेका थिए ।
अखण्ड मध्यपश्चिमका ब्यानरमा सुर्खेतबाट सुरु भएको आन्दोलन १० वटै जिल्लामा फैलिएको थियो । आन्दोलनमा सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवर सहिद हुनु परेको थियो ।
आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन सरकारले ४ भदौ, ०७२ मा कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लासहित १० वटा जिल्ला जोडेर ६ नम्बर प्रदेश घोषणा गरेको थियो । छुट्टै प्रदेश स्थापनाका लागि कर्णालीले निकै संघर्ष गर्नुपरेको थियो ।
कर्णालीले आफ्नो पहिचान रगत बगाएर, बिद्रोह गरेर प्राप्त गरेको हो । अन्दोलनमा राजनीतिक दल भन्दा जनताको योगदान ठूलो रहेको भन्ने गरिन्छ । पहिले देखि नै पछाडि पारिएको कर्णालीलाई बे–वास्ता गरेर सिमाङ्कन गरिएपछि सुर्खेतका नागरिक समाज, व्यवसायी, पेशाकर्मी, विद्यार्थी मिलेर आन्दोलनको सुरुवात गरेका थिए ।
त्यो बेला जनताहरु आन्दोलनमा उत्रिएपछि राजनीतिक दलहरु पनि सडकमा आउन बाध्य भए । पछि १२ फागुन, ०७४ मा बसेको कर्णाली प्रदेश सभा बैठकले ‘कर्णाली प्रदेश’ नामाकरण गरेको थियो ।




खबर बजार । ४ भाद्र २०८२, बुधबार ११:३९