
डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार डडेल्धुुरा सदरमुुकामतर्फ आइरहेको जिप दुुर्घटनामा परेको हो ।
घटनास्थलमा भर्खरै प्रहरी टोली पुगेको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ । सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते कती छन् अझै यकिन हुन सकेको छैन ।
दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार कार्य चलिरहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।
उक्त जिप डडेलधुराकै ठाडा बजारबाट सदरमुकाम जाँदै थियो । जिप करिब सवा नौ बजेतिर दुर्घटना भएको अनुमान छ ।




खबर बजार । १२ भाद्र २०८२, बिहीबार १०:२५