नक्कली भुटानी शरणार्थी प्रकरणः अन्तिम सुनुवाइ आजदेखि हुने

काठमाडौँ । एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँणसहितका ३१ जना जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ आजदेखि सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दुई वर्षदेखि विचाराधीन रहेको यो मुद्दा अब अन्तिम टुंगो लाग्ने चरणमा पुगेको हो ।

पछिल्लो समयमा साक्षी बयान र बकपत्रसम्बन्धी प्रक्रिया सकिएपछि अदालतले साप्ताहिक पेशी सूचीमा राख्दै आजदेखि अन्तिम बहस सुरु गर्ने भएको हो ।

यसअघि तत्कालीन जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसपछि केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटे भने केही अझै थुनामै रहेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले १० जेठ २०८० मा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसयता यो प्रकरणमा पूरक मुद्दासहित ३१ जना प्रतिवादी बनेका छन् ।

गृहमन्त्री र गृहसचिवस्तरमै बिचौलियासँग मिलेर नक्कली शरणार्थी सूची बनाएको आरोपमा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहितका उच्चस्तरीय व्यक्तिहरू प्रतिवादी बनेका छन् । उनीहरूमाथि ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको छ ।

अब अदालतमा अन्तिम बहस सुरु हुने भएपछि लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको छिनोफानो हुने अपेक्षा गरिएको छ ।