
दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशका उप–सचिव तथा दैलेख निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्रराज शर्माले आफू जनताप्रति प्रतिबद्ध रहेको बताउँदै आफू निर्वाचित भएमा नीतिगत सुधारको कामसँगसँगै विकास निर्माणको काम आफ्नो प्राथमिकतामा रहने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको आयोजनामा सम्पन्न निर्वाचन केन्द्रित बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा सदस्यको मुख्य जिम्मेवारी नीतिगत व्यवस्था गरि कानुनी अल्झनलाई सल्ट्याउने जिम्मेवारी भए पनि जनताको विकासको आकाङ्क्षा समेत पुरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन देश निर्माण गर्ने र जलाउने बिचको जनमत सङ्ग्रहका रूपमा अघि बढेको बताउनुभयो । विगतमा (एमाले) सरकारका पालामा मुलुक दिगो विकासतर्फ अघि बढेको स्मरण गर्दै शर्माले भदौ २३ र २४ गतेको आन्दोलन जेनजीका नाममा अन्य विखण्डनकारी तत्त्वले हालमा लिएर मुलुक अराजकतातर्फ धकेलेको बताउनुभयो ।
शर्माले दैलेखको विकास र जनताका आकाङ्क्षा परिपूर्तिका निम्ति यहाँका आम नागरिकले (एमाले) को सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आफू पहिलो पटक प्रतिनिधि सभा सदस्य हुँदा दैलेख उज्यालो कार्यक्रमलाई अघि बढाएको जनाउँदै जिल्लामा अलपत्र पारिएका ठुला विकासे योजना/आयोजनाको काम अघि बढाउन दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा (एमाले)का उम्मेदवार विजयी हुनुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै (एमाले) केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य मिनासिंह रखालले राष्ट्रलाई सिरमा राख्दै (एमाले) मुलुकको विकासमा अघि बढेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा (एमाले)का उम्मेदवारलाई निर्वाचित गर्न सबै तहका नेता/कार्यकर्ता एक भएर चुनावी मैदानमा होमिन आग्रह गर्नुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज यामप्रसाद शर्माले निर्वाचनका माध्यमबाट (एमाले)का उम्मेदवारलाई विजयी गराउन सबै जनसङ्गठन कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका निम्ति (एमाले)ले बहुमत प्राप्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बैठकमा प्रेस चौतारी दैलेखका अध्यक्ष उदयराज अधिकारीले (एमाले)का उम्मेदवार विजयी गराउन परिवर्तित अवस्थामा सबै एकजुट हुन आग्रह गर्नुभएको छ ।
उहाँले दैलेखको विकास र आम नागरिकलाई परिवर्तनको आभास गराउन सक्ने पार्टी (एमाले) मात्र भएकाले दैलेखका दुई वटै निर्वाचन क्षेत्रका नागरिकले सूर्य चिन्हमा मतदान गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।
आगामी फागु २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा मुलुकमा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आउन ३२ दिन बाँकी रहँदा दैलेखमा क्रियाशील राजनीतिक दलहरूले मत परिणाम आफ्नो पक्षमा पार्न मतदाता केन्द्रित अभियानलाई बढवा दिएका छन् ।




खबर बजार । १८ माघ २०८२, आईतवार २१:०५