इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

काठमाडौं । आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

आज नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा साहसिक रुपमा ब्याटिङ गर्दै १८० रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४४, रोहित पौडेलले ३९, कुशल भुर्तेलले २९ रन जोडे । यस्तै, लोकेश बम ३९ रनमा अविजित रहे ।

बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई तथा विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक–एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।