
काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




खबर बजार । ५ बैशाख २०८३, शनिबार ०८:३२