
सुर्खेत । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज वर्षा हुने सम्भावना छ भने, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही तथा लुम्बिनी प्रदेशको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि छ ।
महाशाखाले लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ । तराई क्षेत्रमा आंशिक बदली भएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।




खबर बजार । १७ जेष्ठ २०८३, आईतवार ०७:००