नागढुङ्गा सुरुङमार्ग साउन ११ पछि सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण भएकाे नागढुङ्गा सुरुङमार्ग साउन ११ गतेपछि सञ्चालनमा ल्याइने भएको छ ।

सुरुङमार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको हुँदा अब उद्घाटनको चरणमा रहेको सडक विभागअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

सुरुङमार्गको उद्घाटनका लागि तयारी भइरहेको र यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भइरहेको आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले बताउनुभयो । पन्थीकाअनुसार आउँदो ११ वा १२ गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ ।

यो सुरुङमार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको हो । परियोजनाको कुल लागत झन्डै २२ अर्ब रुपैयाँ रहेको छ । सुरुङमार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ ।

परियोजनाको मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपत्कालीन सुरुङ पनि निर्माण भएको छ । सुरुङमार्गसँगै पहुँच सडक, फ्लाईओभर, पुल तथा अन्य सहायक संरचना पनि बनेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गकाे शिलान्यास गर्नुभएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएपछि शुरुआती चरणमा निश्चित मापदण्डअनुसार गाडीलाई प्रवेश दिइनेछ । सुरुङभित्र गति सीमा, गाडीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ । सुरुङको सञ्चालन, निगरानी र आपत्कालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ ।

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाण्डौ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाडीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा छ । यसले नागढुङ्गा सडक खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास छ ।

सुरुङमार्ग प्रयोग गर्ने गाडीलाई शुल्क निर्धारण भइसकेकाे छ । सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाण्डौ भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस–ट्रक र टिपरलाई काठमाण्डौ भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।

बस, ट्रकले सुरुङमार्ग भएर काठमाण्डौ छिर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक र हेभी अर्थात् (लरी) ले भने सुरुङबाट उपत्यका भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।