f सशस्त्र प्रहरीमा ६६६ जनाको लागि भर्ना आह्वान  

सशस्त्र प्रहरीमा ६६६ जनाको लागि भर्ना आह्वान  

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले साधारण समूह तथा साधारण उपसमूहतर्फ रिक्त रहेका विभिन्न पदमा नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानव स्रोत विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ जनाका लागि आवेदन माग गरिएको हो ।

सूचना अनुसार कुल पदमध्ये सशस्त्र प्रहरी जवान पदका लागि  ६०४ जना माग गरिएको छ । जसमा खुलातर्फ ३२६ जना, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ र अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ सिट रहेको छ ।

यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडका ६२ जना सशस्त्र प्रहरी परिचरका लागि पनि आवेदन खुलाइएको छ । जसअन्तर्गत भान्छेतर्फ ३८ जना, कूचिकारतर्फ ८ जना, केशकर्तकतर्फ ७ जना, सूचिकारतर्फ ६ जना, चर्मकर्मीतर्फ २ जना र माली पदका लागि १ जनाको माग गरिएको छ । यी पदहरूमा पनि खुला र समावेशी कोटा निर्धारण गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

अनलाइन आवेदन भरेका उम्मेदवारले असोज ३० गतेभित्र आफूले आवेदन दिएको सम्बन्धित कार्यालयमा उपस्थित भएर सक्कल दरखास्त फाराम बुझाउनुपर्नेछ ।

आवेदन फाराम सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकसहित देशभर तोकिएका बाहिनी मुख्यालय, गण तथा गुल्महरूबाट बुझाउन सकिने व्यवस्था गरिएको छ ।