
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार पहिलो दिन तीन हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४३ जिल्लाका तीन हजार ३९६ वडामा निर्वाचन सम्पन्न भएको हो । अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सम्पन्न भएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भाेलि असोज ४ गते पनि जारी रहनेछ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पार्टीको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाउन केन्द्रीय निर्वाचन समितिले विभिन्न चरणको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत स्थानीय तहमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको हो ।





खबर बजार । ३ आश्विन २०८३, शनिबार २१:५५