f एमाले पुनर्गठन विवाद : भोलि देखि केन्द्रीय कमिटी बैठक, आज सचिवालय

एमाले पुनर्गठन विवाद : भोलि देखि केन्द्रीय कमिटी बैठक, आज सचिवालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको बैठक भोलिदेखि शुरू हुँदैछ । पुनर्गठनको विवाद भइरहेका बेला भोलिदेखि तीन दिनको समय तय गरि बैठक आह्वान भएको हो ।

केन्द्रीय कमिटीको बैठकअघि केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । पार्टी नेतृत्वबीच सहमति जुट्न नसकेपछि पुनर्गठनको विषय सचिवालय र केन्द्रीय कमिटी बैठकसम्म पुग्ने देखिएको छ ।

आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्नेछ । सचिवालयको बैठकअघि आजै बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछन् ।

त्यसपछि भोलि सोमबारदेखि तीन दिनसम्म चल्नेगरी केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठक भने ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने तय भएको छ ।

फागुन २१ को निर्वाचनमा नराम्रो नतिजा आएपछि एमालेभित्र पुनर्गठनको बहस उठेको थियो । यो बहसलाई विगतमा अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले नै तीव्र पारेका थिए ।

पार्टीको सचिवालयस्तरकै नेताले बहस थालेपछि त्यसबारे छलफल गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन भएको थियो ।

कार्यदलले सातै प्रदेशमा पुगेर नेताकार्यकर्ताको धारणा सुनेर आएको थियो । त्यसपछि महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष ओलीले पद छाडेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने समीक्षा गरिएको छ ।

अध्यक्ष ओलीको निर्देशनअनुसार कार्यदल संयोजक बादललाई अर्को प्रतिवेदन तयार पारिँदा त्यसमा ओलीले नेतृत्व छाड्न नहुने समीक्षा गरिएको छ ।

दुवै प्रतिवेदनलाई समायोजन गर्दा कार्यदलमा भएको प्रयासमा सहमति जुटेको थिएन । सहमति नजुटे पनि ओलीले नेता प्रदीप ज्ञवालीलाई अर्को प्रतिवेदन तयार पार्न निर्देशन दिनुभएको थियोे । त्यो प्रतिवेदन तयार भइसकेको छ ।

त्यसमा पुनर्गठन पक्षधरले चित्त नबुझाएको एमाले स्रोत बताउँछ । यसरी यो विषय नेतृत्व तहमा विवादित हुँदै केन्द्रीय कमिटीसम्म पुग्ने देखिएको हो ।