f चाँडै अस्पताल नपुग्दा आफन्त गुमाउनुपर्थ्यो, अहिले त एम्बुलेन्स निःशुल्क

चाँडै अस्पताल नपुग्दा आफन्त गुमाउनुपर्थ्यो, अहिले त एम्बुलेन्स निःशुल्क

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको छ । पहिला चाँडो अस्पताल पुग्न नसक्दा आफन्तको अकालमै मृत्यु भएको देखेका नरैनापुरबासी उपचार नहुने हो कि भन्ने चिन्ताबाट मुक्त भएका हुन् ।


एम्बुलेन्सले विगत नौ वर्षमा १३ हजार भन्दा बढी नागरिकलाई निःशुल्क यातायात सुविधा प्रदान गरेको छ । नरैनापुर गाउँ कार्यपालिकाको कार्यालयकाअनुसार दैनिक कम्तिमा चार जना र मासिक कम्तिमा एक हजार चार सय ६० जनाले सेवा लिइरहेका छन् ।
निःशुल्क एम्बुलेन्स सेवाले आफूहरुलाई अकालमा मरिने हो कि भन्ने चिन्ताबाट मुक्त गराएको नरैनापुर गाउँपालिकाका स्थानीय नागरिक सज्जाक खाँ ले खबरबजारलाई बताउनुभयो ।
पहिलाको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा गाउँपालिकालाई जति धन्यवाद दिए पनि कमी हुने उहाँको भनाई छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद् शाहले सरकार लोककल्याणकारी बन्नुपर्छ भन्ने सोंचको साथ आफू पहिलो पटक सरकार प्रमुख हुँदा नै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । गाउँपालिकालेले आर्थिक वर्ष २०७४/०७५ देखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको हो । अध्यक्ष शाह अहिले दोस्रो कार्यकाल स्थानीय सरकार प्रमुख बन्नुभएको छ ।