f हुम्ला र मुगुमा टेलिफोन र इन्टरनेट सेवा प्रभावित

हुम्ला र मुगुमा टेलिफोन र इन्टरनेट सेवा प्रभावित

हुम्ला । हुम्ला र मुगुमा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण अघिल्लो हप्तादेखि टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको हो ।

फोरजी टावरमा प्राविधिक समस्या देखिएको र तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो ।

कर्मचारी दशैँ बिदामा घर गएकाले अब फर्किएपछि मात्रै मर्मत गर्न सकिने उहाँले बताउनुभयो । टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।

अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर समस्या समाधानका लागि आग्रह गरिएको बताउनुभयो ।

भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिकलाई टेलिकमको सेवा बन्द हुँदा थप सास्ती भएको छ ।