कर्णालीमा बढ्दै कोरोना संक्रमण दर

सुर्खेत। कर्णाली प्रदेशमा कोरोना संक्रमण दर बढ्न थालेको छ। पछिल्लो एक महिनामा देखिएको संक्रमण दर बढ्दै गएको हो। योसँगै कोभिड–१९ को चौथो लहर सुरू भएको संकेत देखिएको छ।

पछिल्लो एक महिनामा देखिएको संक्रमण दरका आधारमा कोरोनाको चौथो लहर भनेर घोषणा गर्दा पनि फरक नपर्ने जनस्वास्थ्यको भनाइ छ। ‘घोषणा नहुनु फरक कुरा हो, हाम्रो तर्फबाट भन्ने हो भने यहाँ कोभिडको चौथो लहर सुरू भइसकेको भन्दा हुन्छ,’ स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा। रविन खड्काले भने, ‘संक्रमण दर र नागरिकको बेवास्तालाई हेर्दा जोखिम पनि निकै छ।’

स्वास्थ्य सेवा निर्देशनालयसँग भएको तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो एक महिनामा १४३ जनामा कोरोना संक्रमण देखिएको छ। असार २१ अघि तीन महिनासम्म कोभिड संक्रमण दर शून्य थियो।

असार २१ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो। यो बढेर साउन २१ गतेसम्म १४३ जनामा संक्रमण देखिएको हो। हाल कर्णालीमा कोरोनाको दैनिक संक्रमण दर औसतमा पाँच जना छ।