f पूर्वराष्ट्रपति भण्डारी नेपाल फिर्ता

पूर्वराष्ट्रपति भण्डारी नेपाल फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।

वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर स्वदेश फर्किनुभएको हो । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारीले सम्बोधन गर्नुभएको थियो ।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए)ले आयोजना गरेको फोरममा विश्वका विभिन्न देशका राजनीतिक नेता, कुटनीतिज्ञ, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी भएका थिए ।

फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबर क्षेत्र तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र एआईको सुरक्षित प्रयोगलगायत विषयमा छलफल भएको थियो । भण्डारी एमालेको वरिष्ठ नेता भएपछि यो पहिलो विदेश भ्रमण हो ।