काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५३.८ प्रतिशतले घटेको छ ।

गएको वर्षको यही अवधिको तुलनामा चालू वर्षको साउनदेखि असोजसम्मको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ५३.८ प्रतिशत अर्थात् १८ अर्ब ९० करोड रुपैयाँले घटेको हो ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको पहिलो तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
विभागका अनुसार असोज मसान्तसम्म कुल चार सय २२ वटा उद्योग दर्ता भएका छन् जसमध्ये चार सय १० वटा अटोमेटिक रुटबाट र १२ वटा स्वीकृति प्रक्रियामार्फत दर्ता भएका हुन् । दर्ता भएकामध्ये आकारका आधारमा चार सय १७ साना, दुई मझौला र तीन ठूला उद्योग रहेका छन् ।
असोज महिनामा मात्रै ९४ साना उद्योग दर्ता भई पाँच अर्ब १० करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।
क्षेत्रगत रूपमा सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योग दुई सय ५२ वटा दर्ता भए पनि लगानी रकमका आधारमा भने पर्यटन क्षेत्र अगाडि देखिएको छ । पर्यटन क्षेत्रमा ६ अर्ब आठ करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ ।
यस्तै ऊर्जा क्षेत्रमा चार अर्ब, पूर्वाधारमा तीन अर्ब ५७ करोड, उत्पादनमूलक क्षेत्रमा एक अर्ब ६० करोड र सूचना प्रविधिमा ९२ करोड ८३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।