जिम्बावे क्रकेट टोलीका पूर्व कप्तान हिथ स्ट्रीकको निधन

काठमाण्डौ । जिम्बावेका लागि टेष्ट र एकदिवसीयमा सर्वाधिक विकेट लिने पूर्व क्रिकेटर हिथ स्ट्रीकको निधन भएको छ । उनको ४९ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको निधनबारे हिथ स्ट्रीककी पत्नी नादिया स्ट्रीकले आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिएकि छन् ।

हिथ स्ट्रीकले जिम्बाब्वे क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै १९९३ र २००५ को बीचमा ६५ टेस्ट र १८९ एकदिवसीय खेलमा क्रमश: २१६ र २३९ विकेट लिएका थिए । जिम्बावेका लागि यो कीर्तिमान आज पनि कायम छ । उनी टेस्ट र एकदिवसीय दुवै खेलमा १०० विकेट लिने जिम्बाब्वेका पहिलो र एकमात्र क्रिकेटर हुन् ।

त्यस्तै उनी जिम्बाब्वेका लागि एकदिवसीय खेलमा २०० भन्दा बढी विकेट लिने एकमात्र क्रिकेटर हुन् । उनी टेस्ट म्याचमा पनि १०० भन्दा बढी विकेट लिने एकमात्र क्रिकेटर हुन्। त्यस्तै स्ट्रीक टेस्ट क्रिकेटमा १०० विकेट र १,००० रन र एकदिवसीय क्रिकेटमा २०० विकेट र २,००० रन पूरा गर्ने जिम्बाब्वेका एक मात्र क्रिकेटर हुन् ।

हिथ स्ट्रीकले सन् २००० देखि २००४ सम्म जिम्बाब्वे क्रिकेट टोलीको कप्तानी समेत गरेका थिए ।