f सुर्खेत लेकवेशीमा दुई मेगावाट सौर्य विद्युत उत्पादन गरिँदै, यही आर्थिक बर्षमा काम सक्ने लक्ष्य

सुर्खेत लेकवेशीमा दुई मेगावाट सौर्य विद्युत उत्पादन गरिँदै, यही आर्थिक बर्षमा काम सक्ने लक्ष्य

सुर्खेत । सुर्खेत लेकवेसी नगरपालिकामा दुइ मेगावाट क्षमताको सौर्य विद्युत उत्पादन गर्ने तयारी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको आफ्नै स्वामित्वमा रहेको पाँच विगाह १२ कट्ठा जग्गामा झुप्रा सौर्य विद्युत आयोजना सञ्चालन गर्ने तयारी गरिएको हो ।

लेकवेशी नगरपालिका–१०, साटाखानीमा रहेको उक्त जग्गामा प्राधिकरणले चार हजार वटा सोलार प्यानलहरु मार्फत दुई मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएको छ ।
सोलार प्यानलबाट ‘डिसी’मा उत्पादन भएको विद्युतलाई ‘एसी’मा परिणत गरेर उत्पादित विद्युत प्रसारण लाइनमा जोड्ने प्राधिकरणको योजना छ ।

यसका लागि वीरेन्द्रनगर सवस्टेशनको ११ केभी प्रसारण लाइनमा सौर्य विद्युत आयोजना मार्फत उत्पादित दुई मेगावाट विद्युत जोडिने र राष्ट्रिय विद्युत प्रणालीमा आवद्ध हुने जनाइएको छ ।
आयोजनाले हाल प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयारी गरिरहेको र जनवरी महिनादेखि काम शुरु हुने भन्दै नेपाल विद्युत प्राधिकरणका सहायक म्यानेजर एवम परियोजना प्रमुख प्रकाश रावतले काम शुरु भएको १० महिनामा अयोजना सम्मपन्न हुने जानकारी दिनुभयो । “जर्मन सरकारको सहयोगमा विद्युत प्राधिकरणले संचालन गर्ने यो परियोजना मार्फत सुर्खेतलाई छनौट गरेका गरेका हौँ,” उहाले भन्नुभयो, अब वातावरणिय परिक्षण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ र जनवरीबाट काम शुरु गर्ने योजना बनाएका छौँ, काम शुरु भएको १० महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।”

उहाले २ मेगावट विद्युत उत्पादन गरि राष्ट्रिय प्रशारण लाइनमा जोडिने र त्यसले दिउसोको समयमा सुर्खेतमा बारम्बार बत्ती जाने समस्या कम हुने बताउनुभयो । “सुर्खेतमा अहिले लो भोल्टेजका कारण बारम्बार बत्ती जाने समस्या पनि छ । उहाले भन्नुभयो, यो आयोजना निर्माण पश्चात कम्तीमा २ मेगावाट विद्युत मात्रै प्रशारण लाइनमा जोडियो भने दिउँसोको समयमा मात्रै भएपनि बत्ती जाने समस्या कम हुने छ ।”

आयोजना लेकवेशी नगरपालिका–१०, साटाखानी स्थित झुप्रा खोला साना जलविद्युत केन्द्रको पावरहाउस परिसरमा निर्माण हुने उहाले बताउनुभयो ।

५३ करोड लगानी गरिँदै

झुप्रा सौर्य विद्युत आयोजनामा रु ५३ करोड रुपैयाँ बढी लगानी हुदैछ । जर्मन सरकारको अनुदान सहयोगमा नेपाल विद्युत प्राधिकरणले आयोजना सञ्चालन प्रक्रिया अघि बढाएको हो ।
नगरपालिकाको तर्फबाट आयोजनाको कामलाई सहज बनाउन प्राविधिक सहयोग गरिएको भन्दै लेकवेशी नगरपालिका प्रमुख उमेश पौडेलले यसबाट सिचाईं तथा रोजगारीको क्षेत्रमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

“साटाखानीमा यो ठुलो आयोजना निर्माण हुनु हाम्रा लागि राम्रो कुरो हो । यसले यहाँ स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउन समेत मद्दत गर्नेछ”, लेकवेशी नगरपालिका प्रमुख पौडेलले भन्नुभयो । “आयोजनाले यहाँ विद्युत उत्पादन मात्र नभईकन सिंचाई तथा रोजगारको विषयमा समेत सहयोग गर्ने अपेक्षा लिएका छौँ ।”

नेपाल सरकारको दश प्रतिशत विद्युत उत्पादन सौर्य उर्जाबाट गर्ने नीति अनुरुप प्राधिकरणले देशैभरी विभिन्न स्थानमा सौर्य विद्युत आयोजनाहरुको निमार्ण कार्य अगाडी बढाएको छ । ५३ करोड रुपैयाँ लागत रहेको आयोजना चालु आर्थिक बर्ष २०८०/०८१ बाटै ठेक्कापट्टा कार्य सञ्चालन गरिने तयारी विद्युत प्राधिकरणले गरेको छ । निर्माण कार्य शुरु भएको मितिले एक वर्षभित्र आयोजना सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।