डा. गोविन्द केसीको अनशन ३ महिनाका लागि स्थगित

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आउनु भएका डाक्टर गोविन्द केसीले आफ्नो अनशन ३ महिनाका लागि स्थगित गर्नु भएको छ ।

यसअघि साउन २९ गतेबाट अनशन बस्ने घोषणा गर्नु भएको उहाँले त्यो अनशन आजसम्मका लागि स्थगित गर्नु भएको थियो ।

विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्‍याउने लगायतका कामहरुका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरुले ३ महिनाको समय मागेकाले त्यतिञ्जेलसम्मका लागि अनशन स्थगित गरेको उहाँले बताउनु भएको छ ।

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक वचनवद्धता प्रकट गरेको भन्दै डाक्टर केसीले त्यसको स्वागत पनि गर्नु भएको छ ।

सबै खाले गलत काम गर्ने राजनीतिज्ञहरु र खास गरी सत्ता र प्रतिपक्षमा हुने मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई जवाफदेही नबनाइ नेपालमा दण्डहीनताको अन्त संभव नभएको भन्दै आज निकालेको विज्ञप्तिमा डा. केसीले उनीहरुलाई जवाफदेही बनाउन जिम्मेवार नागरिकले मुल भूमिका खेल्नु पर्ने बताउनु भएको छ ।

अब सत्याग्रह सुरु गर्न परेको खण्डमा देशमा रहेको सबै खाले दण्डहीनताका जरोमा रहेको द्वन्द्वकालीन अन्यायको विषयलाई मुख्य रुपमा उठान गर्ने तथा त्यसका लागि जिम्मेवार दुवै पक्षका व्यक्तिहरुलाई जवाफदेही बनाउने पनि उहाँले बताउनु भएको छ ।