काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई खासै सम्बोधन नगरेकोले बजार घटेको बताइएको छ । शेयर बजार आज २३ दशमलव ८१ अङ्कले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ ।
आज समग्रमा सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय १४ वटा कम्पनीको एक करोड सात लाख कित्ता शेयर चार अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड रुपैयाँ बराबरको शेयर कारोवार भयो ।
खबर बजार । १६ जेष्ठ २०८१, बुधबार १५:५६