सुर्खेतमा एक महिलाको शव फेला, हत्याको आशङ्का

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १२, को झिगंना नजिकै रहेको जङ्गलमा एक महिला मृत भेटिएकी छन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओली मृत भेटिएकी हुन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइटको पानी खोल्सामा डुबेको अवस्थामा आइतबार बिहान ५ः०० बजे शव भेटिएको हो ।

गाउँको स्थानीयहरू खजुरी टिप्नका लागि जङ्गल गएका रहेछन् त्यही वेला उनीहरुले शव देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र जङ्ग बुढाथापाले बताउनु भयो, उहाँले भन्नु भयो, ‘बुझ्दै जाँदा शवको पहिचान खुले पनि कारण पत्ता लगाउन सकिएको छैन ।’

अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर मगाइएको उहाँले बताउनु भयो । घटनाको प्रकृति हेर्दा हत्या गरिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।