f बाजुरामा बाढीले बगायो ११ घर

बाजुरामा बाढीले बगायो ११ घर

सुर्खेत । बुधबार रातिको बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ ।

विच्छ्या खोलामा बुधबार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको छ ।

बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् ।

बाढी प्रभावितलाई राहत र पुनःस्थापनाका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्ने अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनु भयो ।