
काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुने छ ।
उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने छन् ।
राती ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेको महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभयो ।
सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको र त्यसमा पनि किशारी र महिलाहरुले दुर्व्यवहार भोग्नु परेकोले यसो गरिएको उहाँको भनाई छ ।
साथै विद्यार्थीहरुलाई आर्थिक रुपमा धेरै मर्का परेको हुँदा सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य हो ।
सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरु सञ्चालन हुने छन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउने छन् । बसमा सीसीटिभी क्यामरा जडान हुने छन् । सुरक्षाका लागि नगर प्रहरी हुने छन् ।




खबर बजार । १९ चैत्र २०८२, बिहीबार १३:२७