नागरिकसामू गुराँसका आठ प्रतिवद्धता 

दैलेख । गुराँस गाउँपालिका सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकसामू ८ बुँदे प्रतिवद्धता गरेको छ ।

गुराँस गाउँपालिकाको आयोजना तथा स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहजीकरणमा भएको सार्वजनिक सुनुवाइमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने सवालमा प्रतिवद्धता गरिएको हो ।

सुनुवाइमा तर्जुमा ऐन, नियम, कार्यविधि, निर्देशिका, मापदण्डलगायत कानुनी दस्तावेजलाई निरन्तर रुपमा कार्यालयको वेवसाइटमार्फत् सार्वजनिक गर्ने र समुदायको पहुँचमा पुर्‍याउने, पन्ध्र शैय्या अस्पतालको भवन ठेक्का कम्पनीबाट हस्तान्तरण हुनासाथ मापदण्डअनुसारका सेवा सूचारू गर्ने, सबै स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी पदपूर्ति गर्ने प्रतिवद्धता भएको छ ।

विद्यालयहरुमा बालमैत्री बसाइ र सिकाइ क्रियाकलाप सञ्चालनलाई निरन्तरता दिने, विद्युत सेवा शुल्क तिर्न नागरिकलाई सहज माध्यमको व्यवस्था गर्ने, विद्यालयस्तरको शिक्षण सिकाइ क्रियाकलापलाई थप व्यवहारिक र गुणस्तरीय बनाउने खालका कार्यक्रम तर्जुमा गर्ने प्रतिवद्धतासमेत सार्वजनिक सुनुवाइमा भएको छ ।

साथै, गुराँस कृषि क्याम्पस नामले धरमपोखरामा भवन निर्माण कार्य सम्पन्न भइसकेक‍ा हुँदा त्यहाँ सम्भावना भएका प्राविधिक धारका पठनपाठन सञ्चालन गर्न पहल गर्ने र गुराँस गौरव मार्गको निरन्तर स्तरोन्नतिको कार्य अघि बढाउने प्रतिवद्धता सार्वजनिक सुनुवाइमा भएको छ ।

गाउँपालिका अध्यक्ष एवं प्रमुख जवाफदेही वक्ता टोपबहादुर बि. सी. ले सार्वजनिक सुनुवाइमा नागरिकले उठान् गरेका सुझाव, गुनासो तथा जनमत सर्वेक्षण र वहिर्गमन अभिमतबाट प्राप्त नतिजाको आधारमा आगामी आर्थिक वर्षमा सेवालाई थप परस्कृत गरिने बताउनुभएको छ ।

सहजकर्ता सिपी शर्माले सहजिकरण गर्नुभएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले पालिकामा कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ मा भएका प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

सार्वजनिक सुनुवाइमा गाउँपालिकाकी उपाध्यक्ष शिवा कुमारी खड्का, वडा अध्यक्ष एवं विषयगत समितिका संयोजकहरू, शाखा प्रमुखहरूलगायतको उपस्थिति थियो ।