f सुर्खेतमा तीन चरणमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

सुर्खेतमा तीन चरणमा एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने भएको छ । यहाँका नौं वटै स्थानीय तहमा रहेका अनुमानित एक लाख ३५ हजार बालकालिकाहरुलाई खोप लगाउन लागेको हो ।

राष्ट्रिय कार्यक्रम अन्तरगत नै सुर्खेतमा तीन चरणमा यो अभियानको शुरुवात गर्न लागिएको छ । पहिलो चरणमा यहीँ चैत २५ गते वीरेन्द्रनगर, दोस्रो चरणमा चैत २६ गते भेरीगंगा नगरपालिका, चैत २८ गते गुर्भाकोट नगरपालिका, चैत २९ गते बराहताल र चिंगाड गाउँपालिका तथा लेकवेसी नगरपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी बैशाख ३ गते चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान शुरु गरिनेछ ।

सिम्तामा सात हजार ८४१, चिंगाडमा पाँच हजार ९१५, लेकवेशीमा आठ हजार ३९७, गुर्भाकोटमा १२ हजार ९९७, भेरीगंगाका ११ हनार ८१९, वीरेन्द्रनगरका २२ हजार २३९, बराहतालका सात हजार ८३५, पञ्चपुरीका १० हजार ६२६ र चौकुनेका आठ हजार ७९८ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाइनेछ ।

जन्मेको १५ महिना पुगेका बालकालिकालाई पहिलो खोप लगाइने प्रमुख गौतमले बताए । सुर्खेतमा आर्थिक वर्ष २०७६र७७ मा तीन हजार ४२६, २०७७र७८ मा चार हजार ५२८ र चालु आर्थिक वर्षको हालसम्म दुई हजार ८३६ जनामा टाइफाइड रोगको संक्रमण देखिएको गौतमले जानकारी दिनुभयो ।

‘बालबालिका १५ वर्ष पुग्दासम्म टाइफाइड रोग विरुद्धको खोप अनिर्वाय लगाउनुपर्ने जानकारी दिदै प्रमुख गौतमले १५ वर्षमुनिका बालकालिकाहरुमा टाइफाइड रोगको ११ गुणा संक्रमण हुने उच्च जोखिम रहेकाले न्यूनिकरण गर्न खोप अभियानलाई तिव्रता दिने उल्लेख गर्नुभयो ।

पानी र खानेकुराबाट टाइफाइड रोगको संक्रमण हुनुमा तेस्रो स्थानमा रहेकाले नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिएको कार्यालयको तथ्याङ्क छ । टाइफाइडको संक्रमणका कारण अस्पतालमा भर्ना हुने विरामीहरुमध्य चौथो स्थानमा पर्छन् ।

टाइफाइडका बिरामीमा पेट तथा टाउको दुख्ने, अचानक ज्वरो आउने, बान्ता हुने, अत्याधिक पसिना आउने र टाउको चिसो महसुष हुने र कब्जियत हुने अनि कमजोरी महसुष हुने जस्ता लक्षण देखापर्ने गर्दछ । यसले बिस्तारै कलेजोमा नोक्सान पुर्‍याउँछ र पुरै शरीरलाई असर गर्छ ।

अपाङ्गता र मृत्युदर घटाउने उदेश्यले खोप अभियानलाई प्रभावकारी बनाउन लागेको प्रमुख गौतम बताउँनुभयो । लक्षित समुदायमध्य सबैभन्दा बढी ८० प्रतिशत बालबालिकालाई विद्यालयमा पुगेर खोप लगाइने कार्यालयले जनाएको छ ।

यसबाट बच्न सधै स्वच्छ पानी पिउने, पानीलाई राम्ररी उमालेर चिसो भएपछि पिउने, खाना खानुअघि राम्ररी हात धुने, जतिसक्दो, ताजा र पौष्टिक आहारा लिने र भुटेको, तारेको खानेकुरा नखान स्वास्थ्यकर्मीको सुझाब छ ।