कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

सुर्खेत । कर्मचारी अभावले नागरीकलाई सेवा प्रवाहमा समस्या भएको नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापाले बताउनुभएको छ ।

आज नापी कार्यालय सुर्खेतमा नेपालमा जग्गाको लिखित रजिष्ट्ेशन प्रारम्भ भएको एकसय वर्षका अवसरमा आयोजित पत्रकार सम्मेलनमा थापाले जनशक्ति अभावका कारण नागरीकलाई सेवा प्रदानमा ठुलो समस्या भई रहेको बताउनुभएको हो । नापी कार्यालयमा हाल चार जना अमिन र चार जना सर्वेक्षक दरवन्दीका कर्मचारी कार्यरत छन् ।

यिनै कर्मचारीले जिल्लाका पाँच वटा स्थानीय तह सम्हाल्नु पर्ने अवस्था छ । अहिलेकै अवस्था हेर्ने हो भने नापी कार्यलयमा कम्तीमा पनि अमिन र सर्वेक्षक दुवै गरी दश जना कर्मचारी आवश्यक रहेको प्रमुख थापाले बताउनुभयो ।

कर्मचारी अभाव भएका कारण पनि भूमी आयोगले माग गरे बमोजिमका कर्मचारीसमेत उपलब्ध गराउन नसकिएको थापाको भनाई छ । दक्ष कर्मचारी अभाव मात्र नभएर कार्यालयलाई पर्याप्त वजेट तथा सवारी साधनकोसमेत अभाव रहेको उहाँको भनाई थियो ।

नापी कार्यलयको कामप्रति सेवाग्राहीका गुनासाका सम्बन्धमा कुनै कुनै प्राविधिक क्षेत्रका विषय बाहेक प्रक्रिया पुरा गरी आउने सेवाग्राहीलाई कार्यालयले तोकिएकै समयमा सेवा प्रदान गर्ने गरेको प्रमुख थापाको दावी छ ।

डिजिटल सेवा सुरु गरेको नापी कार्यालय सुर्खेतले भू अभिलेख सूचना व्यवस्था प्रणालीबाट जग्गको स्वामित्व हस्तान्तरण गर्ने कार्य सुरु गरिसकेको छ । सत्वार्षिकीका अवसरमा नापी कार्यालय सुर्खेतले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

जसअन्तर्गत चैत ३० गते (आज) कार्यालय परिसरमा सरसफाई तथा अन्तक्र्रिया तथा परिसम्वाद कार्यक्रमको आयोजना गरेको छ, भने भोली नव वर्ष २०७९ वैशाख १ गतेका दिन परिसम्वाद कार्यक्रमसहित सेवाग्राही सम्मान गर्ने कार्यतालिका कार्यलयको रहेको छ ।

नेपालमा पहिलो पटक वि.सं. १९७९ वैशाख १ गतेबाट जग्गा जमिन किनबेच र रजिष्ट्ेशनको नीति सुरु भएसँगै पोता रजिष्ट्ेशन गर्ने व्यवस्था सुरु भएको थियो । नेपालमा सो व्यवस्था सुरु भएको एकसय वर्ष पुरा भएको छ ।