मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न

विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जना विद्यार्थि दिक्षित 

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षतामा दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको हो ।


समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक थलोका रूपमा मध्यपश्चिम विश्वविद्यालयलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । शिक्षा क्षेत्रमा सरकारको लक्ष्यसँगै अनिवार्य, निःशुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने संविधानको मर्मलाई पूरा गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । नेपाल सरकारले समयअनुसारको गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिएको शिक्षामन्त्री पौडेलले बताउनुभयो ।

शिक्षामन्त्रीको अध्यक्षतामा भएको विश्वविद्यालयको प्रमुख अतिथि रहेको भारतका कैलाश सत्यार्थीले शिक्षा व्यक्तिगत स्वतन्त्रताको प्रमुख अंग भएको बताउनुभयो । शिक्षा आफूलाई आत्मनिर्भर मात्र नभई आफूलाई सुरक्षित बनाउने एक हतियार भएको उहाँले बताउनुभयो ।


दोस्रो दीक्षान्त समारोहबाट विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ । जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन् ।

यस्तै, स्नातक तहका २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तीर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गरिएको हो ।


समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण २ जना र स्नातक तह उत्तीर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिएको छ। विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गरिएको छ । मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तीर्ण विद्यार्थीलाई दिक्षित गरिएको हो ।

स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दीक्षित भएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी उपाधि लिएका एक जनालाई पनि दीक्षित गरिएको छ ।

वीरेन्द्रनगर–८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भएको समारोह अघि विश्वविद्यालयको सिनेट पनि सञ्चालन गरिएको थियो ।

यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो । यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो ।