

सुर्खेत । सुर्खेतका ग्रामिण क्षेत्रमा कुनै न कुनै रुपमा जातिय विभेदका घटनाहरु भइरहेको गुनासो बढेको छ । समाजमा अझै पनि माथिल्लो जातका व्यक्तिहरुले छोइछिटो गर्ने, दलित भएकै कारण अपमान गर्ने र दलितमाथिको विभेद हटाउन व्यवहारत लागु नभएको दलित समुदायले गुनासो गरेका हुन् ।
शनिबार भेरीगंगा नगरपालिका–१३ रामघाटमा आयोजित अन्तर (दलित र गैरदलित) समुदाय संवाद कार्यक्रममा सहभागी दलित समुदायका नागरिकहरुले कानूनी रुपमा छुवाछुत र जातिय विभेद गर्नुहुँदैन् भन्ने उल्लेख गरेपनि समाजमा यी घटनाहरु बारम्बार भइरहेको गुनासो गरेका छन् । छुवाछुतका घटनाहरुमा शिक्षित व्यक्तिहरुबाटै हुने गरेको भक्त नेपालीले बताउनुभयो ।
अन्तरजातिय विवाह गरेकी मनिषा विकले धारामा पानी लिन जाँदा छुइ हुन्छ भन्दै विभेद गर्ने गरेको गुनासो गर्नुभयो । अन्तरजातीय विभेदकै कारण परिवारबाट अपिहेलित बनेकै छौं तर समुदायले पनि विभेद गर्दा समुदाय अझै रुपान्तरण नभएको उहाले उल्लेख गर्नुभयो । दलित समुदायका नागरिकहरुले संविधानमा उल्लेखित कानूनलाई अक्षरस्त पालना गर्न आग्रह गरेका छन् ।
उहाँले नजिकको सरकार स्थानीय सरकार भएकाले वडा कार्यालयबाट सामाजिक विकृती हटाउनमा गम्भीर बन्न सुझाउनुभयो । समुदायबाट उठेका गुनासोहरुको सम्बोन्धन गर्दै भेरीगंगा नगरपालिका–१३ का वडाध्यक्ष गणेशबहादुर भण्डारीले आफ्नो कार्यकालमा छुवाछुत र जातिय विभेद गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
वडामा १२ जोडीले अन्तरजातिय विवाह गरेकाले उनीहरुको सुरक्षाका लागि वडा कार्यालय कटिवद्ध रहेको र उनीहरुले समाजमा कुनै अपहेलित हुने गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउने बताउनुभयो ।
आगामी पाँच वर्षमा वडालाई छुवाछुत तथा जातिय विभेदमुक्त वडाको बनाउन कटिवद्ध भएर लाग्ने उहाँले उल्लेख गर्नुभयो ।
भेरीगंगा नगरपालिकाको सहयोग र नेपाल पीडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन) सुर्खेतको आयोजनामा गरिएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक धनमल विकेले जिल्लामा सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सिभिल सोसाइटीका सामाजिक अभियान्ता गजधर सुनारले नेपालमा छुवाछुत र जातिय विभेदका घटना हुनुका कारण र त्यसको न्यूनिकरणका लागि थाल्नु पर्ने विषयमा जानकारी गराएका थिए ।
उहाँले नेपालका विकास नहुनुमा स्रोत साधनको सही परिचालन नहुनु, जातिय विभेद कायमै रहनु र भ्रष्टाचार गतिविधिले प्रसय पाउनु मुख्य कारण रहेको उल्लेख गर्नुभयो ।
नेपाल पीडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन) सुर्खेतले जिल्लामा विगत दुई दशकदेखी वन, कृषि, वातावरण, सुशासन, गरिवि निवारण, जनवकालत तथा छुवाछुत र जातिय भेदभाव विरुद्धका गतिविधिहरु सञ्चालन गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक विकेले बताउनुभयो ।
कार्यक्रममा दलित र गैरदलित समुदायका स्थानीयहरुको सहभागिता थियो ।

खबर बजार । २९ जेष्ठ २०७९, आईतवार १३:५८