सुर्खेत। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ। प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ। उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनमा लागि आवश्यक पर्ने सबै कार्यहरु सुरु गर्न लागिएको बताउनुभयो । त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोवाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ। पानी परीक्षणको काम व्यवस्थित अत्याधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताउनुभयो ।
दुई करोड रुपैयाँमा काम सुरु गरिएको छ। १० जिल्लामा किट बक्स सहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानी मापनको काम सुरु गरेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले मानव जीवनसँग जोडिएको पानी जस्तो महत्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उद्देश्यका साथ काम भइरहेको प्रमुख शर्माले बताउनुभयो । अहिले जिल्लाका जुनसुकै ठाउँमा पानी जाँच गर्नका लागि स्थानीयवासीले बोलाउने वित्तिकै तत्काल पानीको अवस्था पत्ता लगाउने काम सुरु भएको उहाँले बताउनुभयो ।
१० जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था एकै पटक पत्ता लगाउन र सूचना आदान प्रदान छिटो छरितो सम्प्रेषण गर्नका लागि एन वास एप्लिकेशन प्रशिक्षक तालिम दिएर सुरु गरिएको छ। कर्णाली पानीको लागि राम्रो क्षेत्र मानिए पनि शुद्धीकरण गरेर पिउने कार्य अझै व्यवस्थित नहुँदा पानीकै कारण धेरैलाई समस्य परिरहेको भन्दै सो समस्य समाधान गर्न पहल गरिएको छ।
खबर बजार । १५ असार २०७९, बुधबार १९:४६