आज साउनको पहिलो सोमवार

शिवालयमा दर्शनार्थीको घुुइँचो

सुर्खेत । आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । वीरेन्द्रनगरको वडा नं ९ लाटिकोइलीमा रहेको शिव मन्दिर लगायत कालिन्चोकको शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।


अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ ।

यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् ।

संस्कृतिविद्हरुका अनुसार साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइन्छ ।