कर्णालीमा श्रम स्वीकृति लिनेकाे संख्या बढ्याे

सुर्खेत । कर्णालीमा श्रम रोजगार कार्यालय स्थापना भएसँगै पाँच हजार ५१३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। तथ्यांकअनुसार पहिलो आर्थिक वर्ष २०७५/०७६ मा ९२६ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। आर्थिक वर्ष ०७६/०७७ मा दुई हजार २६ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जसमध्ये एक हजार ९९० पुरुष र ३६ जना महिला थिए ।

यस्तै आर्थिक वर्ष ०७७/०७८ मा श्रम स्वीकृति लिनेको ६७५ जना थियो। त्यसमध्ये ६६७ पुरुष र ८ जना महिला थिए। कोरोना महामारीका कारण यो वर्ष वैदेशिक रोजगारीमा जानेको अ कम भए पनि आर्थिक वर्ष २०७८/७९ मा भने यो संख्या बढेर एक हजार ८८६ जना पुगेको छ।

२०७५ साल माघमा कार्यालय स्थापना भएयता कर्णालीबाटै पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बर्सेनी बढेको छ। यो कार्यालयबाट दोस्रो पटक वैदेशिक रोजगारीमा जानेहरूका लागि मात्रै श्रम स्वीकृति दिने गरिएको छ। पछिल्लो समय सहजताका लागि भनेर अनलाइनबाटै श्रम स्वीकृति लिने व्यवस्था मिलाइएको थियो।                                                                                                  बायोमेट्रिक नभएका व्यक्तिबाहेक धेरैजसोले अनलाइनबाटै श्रम स्वीकृति लिने गरेका छन्। वैदेशिक रोजगारीमा जानेमा प्रायः सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट लगायत छन्। यद्यपि पछिल्लो समय अनलाइन प्रणालीमार्फत बाँके, बर्दियाका व्यक्तिहरूले पनि श्रम स्वीकृति लिएका छन्। यहाँबाट श्रम स्वीकृति लिएकाहरू प्रायः खाडी मुलुक यूएई, साउदी अरब, दुबई, कतार, मलेसियामा जाने गरेका छन्।