कर्णालीमा सवारी दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागू गरिँदै, दुर्घटनामा कमी आउने अपेक्षा

सुर्खेत । कर्णाली प्रदेशमा सवारी दुर्घटना बढ्दै गएपछि टाइम कार्ड लागु गरिने भएको छ । त्यसका लागि प्रदेश ट्राफिक कार्यालयले कार्ययोजना तयार पारिरहेको छ ।
दुर्घटनाको उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागु गरिने ट्राफिक प्रमुख प्रहरी निरीक्षण भुवनेश्वर तिवारीले बताउनुभयो ।
विशेषगरी कर्णाली राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । साँघुरो र खाल्डै–खाल्डाले जीर्ण राजमार्गको अहिलेसम्म स्तरोन्नती हुन सकिरहेको छैन । जसका कारण सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् ।
टाइम कार्ड लागु गरेपछि अनियन्त्रित रुपमा सवारी हाक्ने र दुर्घटनामा कमी आउने विश्वास ट्राफिक प्रहरीले लिएको छ । प्रहरी उपरीक्षक तिवारी अनूसार जहाँ दुर्घटनाको उच्च जोखिम छ त्यहाँ तत्काल टाइम कार्ड लागु हुने छ । सुर्खेत–दैलेख सडक खण्डमा भने यसअघि टाइम कार्ड लागु भइसकेको छ, भने अन्य रुटमा पनि टाइम कार्ड लागु गरे दुर्घटना न्युनिकरण गरिने योजना छ ।
यस्तो सिस्टम लागु भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनामा कमी आउने अपेक्षा लिएको ट्राफिक प्रहरी निरीक्षण तिवारीले बताउनुभयो ।
प्रदेश ट्राफिक कार्यालयले प्रस्तुत गर्ने वार्षिक विवरण अनुसार कर्णालीमा बर्षेनी हजारौ नागरिकहरुको सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ ।
ट्राफिक कार्यालयले उपलब्ध गराएको विवरण अनुसार विगत तीन आर्थिक बर्षमा कर्णालीमा दुर्घटनामा परी ३ सय ९२ जनाको मृत्यु भएका छ ।