काशको थालमा पानी राखेर आकाशमा उडेको प्लेन हेर्थिम्

सुर्खेत । म नरेश्वर चालिसे । वि.स. २००५ सालमा सुर्खेतको जमुनेडाडाँमा मेरो जन्म भएको हो । मेरो बुवाहरु बाग्लुङ्गबाट आउनुभएको हो । मैले थाहा पाउने बेला वीरेन्द्रनगरलाई चौभानचौरको नामबाट चिनिन्थ्यो । जताततै घना जंगल, सिउडी काडाँ, ढोटी घारी, वयरकट्टी मात्रै थियो । अझ भन्नेहो भने यहाँ औलो लाग्ने भएर सबै सुर्खेतको पहाडीभेग तिर बस्दथे । २०२३ सालमा राजा वीरेन्द्रको सवार भएपछि चौभानचौरलाई राजा वीरेन्द्रले निकै मनपराएको भनेर वीरेन्द्रनगर नामाकरण गरि बस्ती बस्न शुरु भएको हो । त्यो भन्दा पहिला त, हरेक बैशाखमा गाईबस्तुलाई ल्याएर छोड्ने गरिन्थ्यो । हामी पनि त्यसै गर्थिम । त्योबेला हाम्रो घरमा धेरै गाईबस्तु, भैसी थिए । हामी संग ठुलो गाई थियो जसले दिनमा तिन पटक गरेर ४० माना दुध दिन्थ्यो । दुध त बिक्रि हुदैन थियो, त्यति पैसा पनि कसै संग हुदैन थियो । कहि कतै भयो भने पनि ५ रुपैया माना बिक्रि हुन्थ्यो । किन्ने भनेको त्यहि लत्ताकपडा, नुन, साबुन इत्यादी हो । त्यहिपनि हाम्रो घरमा धेरै घ्यू बनाउने हुदाँ त्यहि घ्यू कन्टरमा जम्मा गरेर वर्षमा एकपटक बोकेरै नेपालगन्ज लैजाने बेच्ने अनि त्यहि पैसाको सामान किनेर हिडेरै घर आइन्थ्यो । अलि हुनेखानेले त सामान खच्चडलाई बोकाउथे तर धेरै जसोले त बोकेरै ल्याउथे । सामान बोकेर नेपालगन्जबाट घर आउन ७ दिन लागेको पनि मलाई अनुभव छ । पढ्नका लागी विद्यालय थिएनन् । अलिकति पढेकालाई घरमै बस्नखानको व्यवस्था गरेर राख्नु पथ्र्यो अनि अलिकति कखरा, बर्णमाला सिक्न पाइन्थ्यो । मैले पनि त्यसै गरेर पढे अनि जमुनेडाडाँबाट जर्बुटाको एउटा विद्यालयबाट ४ कक्षा त पासँ गरे तर ५ कक्षामा फेल भए अनि पढ्नै छोडे । खर्च गर्नका लागी आम्दानीको स्रोत हुदैन थियो । भात खानको लागी चाडपर्वनै आउनु पथ्र्यो । किनकी खाना भनेकै मकैको आटो, रोटी, सिन्की, ढेडो, मकैको रोटी हुन्थ्यो । त्यतिबेलाका पुरुषहरुले भोटो, कछार, धोती लगाउथे भने महिलाले चोलो, गुन्यो चोली, लुङ्गी लगाउने गर्थे । सबै सोझासाझा केहि थाहा नभएका थिम त्यो समयमा । अरुलाई नराम्रो गर्ने कोहिकसैले सोच्दैन थिए । करिब ६०—६५ वर्ष पहिले त पानीको नि निकै समस्या थियो । पानी लिनकै लागी एकदुई घण्टाको ओरोलो उकालो गोरेटोबाटो हिडेर जाने अनि दुईतिन घण्टा त पालोनै कुर्नू पर्ने हुन्थ्यो । थोरै थोरै चोबिल्टामा पानी हुन्थ्यो । अ‍ैचोपैचो चल्थ्यो जो जसको घरमा गएर नि खान सकिन्थ्यो । हामीले खेल्ने खेलहरुमा काठको डल्लो बनाएर डोरी बेरेर घुमाउने ‐छोयत्रो), पिङ्ग, लुकि यस्तै खेल खेल्थीम । २०१७ सालको कुरा हो, जहाजको आवाज सुन्नै हुदैन थियो काशको गालमा पानी हालेर आँगनमा राख्थिम र छाया हेर्थिम । साथी दौतरीमा कुनै स्वार्थ हुदैन थियो । सुर्खेतमा २०१७ सालमा एयरपोर्ट बन्यो अनि पहिलो सवार महेन्द्र राजाको भएको थियो हेलिकप्टरमा अनि एयरपोर्टबाट निस्केर महेन्द्र राजा रातो घोडामा सवार हुनुभयो अनि हामी पनि पछिपछि दौडिएको थिम हेर्नका लागी । पहिला कुन्टी जाने बाटोमा एयरपोर्ट बनाउने भनेर खुल्ला ठाँउमा तयारी गरियो तर हेलिकप्टरनै डुब्यो अनि पछि अहिले भएको स्थानमा बनाइयो । हामीलाई घाउचोट लाग्यो भने काठेपात, बेलौतीको पात, आपको पात, सिम्रीक, सिन्दुर, तितेपाती थिचेर हाल्थीम हाम्रो औषधीनै जडिबुटि थियो । हात खुट्टा भाचियो भने जडिबुटि राखेर काप्रोले बान्ने हुन्थ्यो त्यो समयमा । फेरि सन्चो पनि हुन्थ्यो, बिकल्प अरुपनि थिएन । अहिले त मेरा दौतरी कोहि हुनुहुन्न सबै भगवानको प्यारो भैसक्नुभयो तर मलाई उहाँहरुको निकै सम्झना आउँछ ।