

काठमाण्डौ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गर्नुभएको छ ।
आज आइतवार काठमाण्डौमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिइ कमी–कमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको हो । उहाँले तीन वटै तहको सरकार मिलेर अघि बढे सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताउनुभयो । उहाँले देशमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नु पर्दछ । एकले अर्कालाई दोष दिएर देश अघि बढन सक्दैन । सङ्घीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन ।’
अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरू जनताले उपयोग गर्न पाउने गरि काम गर्न पनि पालिकाका जनप्रतिनिधिले सबल ढङ्गले काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

खबर बजार । २५ मंसिर २०७९, आईतवार १५:०९